काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । यादवको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ सोही कार्यक्रममा सहभागी नुवाकोटका ४७ वर्षीय श्यामबहादुर सापकोटाले पछाडिबाट धारिलो हतियार हानेका थिए ।
यस्तै, सांसदहरुले उपचारका लागि कान्ति बाल अस्पतालमा लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको प्रति सरकारको ध्यानार्षण गराएका थिए । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको घटनाप्रति सांसदहरुले आक्रोश व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्णय गराएका थिए ।



















