काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका छन् । उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उनले प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने बताए ।
राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को बिरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।
समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे । पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरै कुरा शंकाको घेरामा आएको निस्कर्ष निकालेको छ ।




















