नुवाकोट । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार स्टण्ट देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा उद्यत रहेको आरोप लगाएका छन् ।
उनले जनताको पक्षमा काम गर्न नसकेपछि अनेक किसिमका स्टण्ट गरेर गठबन्धन सरकार असफल भएको समेत दावी गरे ।
दुई दिने जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुर आएका पूर्वउपप्रधानमन्त्रिसमेत रहेका पोखरेलले देश अस्थिरतातर्फ गएको जिकिर गरे । उनले देशको स्वाधिनतासमेत संकटमा परेको बताउँदै देशलाई सफल बनाउने दायित्व एमालेको काँधमा आएको बताए ।
उनले गठबन्धनको सरकारले विकास,आर्थिक सम्वृद्धि,राष्ट्रिय स्वाधिनताको रक्षा, कुटनीतिक स्थायित्व र सामाजिक सद्भाव कायम राख्न नसकेका कारण असफल भइसकेको दावी गरे ।
सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ । उनले भ्रष्टाचारसम्बन्धी प्रकरणमा खुल्ला रुपमा छानबिन गरेर दोषीमाथि कानुनी कारबाही गरिनुपर्ने माग गरे ।
उनले देशको निकासका लागि एमाले मुलविन्दुमा रहेको बताउँदै नेता पोखरेलले एमालेलाई सरकारमा जान कुनै हतार नभएको समेत बताए । उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले अब मिसन ८४ लिएर आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।




















