काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोर्खा सैनिकलाई बेलायत सरकारले विभेद गरेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशका तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरूलाई सरकारले न्यायको प्रत्याभूति दिलाउन नसकेकोमा दुख व्यक्त गरे ।
उनले यो विषय सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको बताए । उनले गोर्खालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले कूटनीतिक माध्यमबाट समाधान खोजिने बताए ।




















