काठमाडौं । बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामाथि थुनछेक बहस जारी छ ।
थुनामा रहेका १८ जनाको बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरू भएको हो ।
अहिले सरकारी तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेको अदालत प्रशासनले जनाएको छ। दुवै तर्फका कानुन व्यवसायीको बहस सकिएपछि पक्राउ परेकाहरूलाई थुनामा राख्ने कि धरौटीमा छोड्ने आदेश आउनेछ ।
ललिता निवास जग्गा प्रकरणमा ३१२ जना प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ। उनीहरुमाथि सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ। भदौ ११ बाट थुनामा रहेका प्रतिवादीहरूको बयान सुरू भएको थियो ।
समरजंग कम्पनीका कार्यालय प्रमुख मुकुन्द प्रसाद पन्तको जाहेरी सूचनाका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । ललिता निवास प्रकरणमा ५७ दिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सीआईबीले भदौ ५ गते सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।
त्यसपछि प्रतिवेदनमाथि अध्ययन गरेर सरकारी वकिलको कार्यालयले भदौ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। सो प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलगायत पूर्वमन्त्रीसँग सोधपुछपछि सीआईबीले अनुसन्धानलाई अन्तिमरुप दिएको थियो ।




















