बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन सुरू भएको छ। अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी छन् । अहिले नेताहरूले बोल्ने क्रम जारी छ।
महासचिव शंकर पोखरेलले एमाले चुनावमा पहिलो शक्ति भए पनि सरकारको नेतृत्व गर्न नपाएको बताए । विदेशी शक्तिको इसारामा नाचिरहेका गठबन्धनलाई पराजित गरेर आगामी चुनावमा ५१ प्रतिशत बहुमतसहितको सरकारको नेतृत्वमा एमाले पुग्ने उनले दाबी गरे ।
विपक्षीहरू एमालेलाई कमजोर बनाउन मनमुटाव रहेको भन्दै प्रचारप्रसारमा लागेको बताउँदै उनले एमाले केपी ओलीको नेतृत्वमा एकताबद्ध भएर अघि बढिरहेको बताए। यो अधिवेशन वर्षले एमालेलाई मजबुत र थप एकताबद्ध बनाउने उनले जिकिर गरे। उनले एमाले टुक्र्याएर कमजोर हुन्छ भन्ने सपना देख्नेहरूको सपना पूरा नहुने भन्दै देश विकासका पक्षधर माओवादी तथा अन्य कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई एमालेमा समाहित हुन आह्वान गरे ।
उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवासका निर्णयकर्तालाई सुनपानी छर्किएको भन्दै आलोचना गरे । त्यस्तै सचिव गोकर्ण विष्टले एमाले एक भएर उभिएर मुलुकको विकासमा लाग्ने बताए । उनले गुट, समूहको कल्पना एमालेमा गर्न नसकिने बताए। अर्का सचिव पद्मा अर्यालले एमालेलाई कमजोर बनाउन गुटको प्रचार भएको भन्दै त्यसलाई गलत सावित गर्न नेता कार्यकर्तालाई आग्रह गरिन् ।




















