विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै द्विविधा नरहेको बताएका हुन् ।
संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने ओलीले झुटको खेस्रो भएको टिप्पणी गरे ।
सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो। त्यही घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने जिकिर गरे। एमसीसीका सन्दर्भमा व्याख्यात्मक घोषणा गर्दै सरकारले त्यतिबेला नेपाली जनतालाई धोका दिएर झुट बोलेको आरोप उनको छ।
त्यतिबेला झुट बोलेर र गलत प्रभावमा पारेर एमसीसी पास गराउने बाटो रोजेको आरोप ओलीको छ। पास गर्नु उपयुक्त हो कि होइनभन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेको उनले बताए ।
एमसीसी परियोजनाका उपाध्यक्ष नेपाल आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाटै अनुमोदन भएको व्याख्यात्मक घोषणा सम्झौताको हिस्सा हुन्छ कि हुँदैन भनेर आफूले सोध्ने बताएका थिए ।




















