काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले जातीय र सामाजिक सद्भाव भड्काउन लागेको आरोप लगाएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधानविपरीत र मुलुकमा जातीय हिंसा भड्काउने गरी आएको भन्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालको उक्त भनाइ आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् ।
प्रमुख सचेतक गिरीले आपसमा मिलेका नेपाली समुदायलाई भड्काउने, आपसी विद्वेष फैल्याउने, मुलुकलाई अराजकतातर्फ लैजाने काममा प्रधानमन्त्री आफैं संलग्न गरेको आरोप लगाउँदै त्यसप्रति निन्दा र भर्त्सनासमेत गरेका छन् ।
प्रमुख सचेतक गिरीले भनेका छन् “पछिल्लो समय प्रधानमन्त्रीज्युले जुन प्रकारले म जातीय राज्यको पक्षमा छु। तपाईंहरु जाग्नुस्, उठ्नुस्। तपाईंहरुले मलाई बल दिनुपर्ने बेला आएको छ। बल दिनुस्। म यो मुलुकमा जातीय राज्य स्थापित गर्छु । हाम्रो पार्टीलाई बहुमत दिनुस् जजस्ता अभिव्यक्तिहरु दिँदै आउनुभएको छ, यो अभिव्यक्ति असंवैधानिक त छँदैछ, यसले मुलुकमा मिलेर बसेका दाजुभाइबीच आपसमा विद्वेष फैल्याउने, हिंसा भड्काउने, अराजक सृजना गर्ने र त्रादसीपूर्ण स्थिति ल्याउने छ। जसलाई प्रधानमन्त्रीले मलजल गरिरहनुभएको छ। प्रधानमन्त्रीजस्तो व्यक्ति यसरी विद्वेष र घृणा फैल्याउन लाग्नु स्वीकार्य छैन।”
सरकारले सुशासन कायम गर्ने भनेपनि त्यस अनुसारको काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।