काठमाडौँ । ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको आवासको निर्माण पूरा भएर आइतबार हस्तान्तरण गरिएको छ । ठेक्का भएको चार वर्षमा आवास निर्माण सम्पन्न भएको हो । हाल अपार्टमेन्टमा बस्दै आएका मुख्यमन्त्री र प्रदेश प्रमुख अब भैंसीपाटी आवासमा बस्ने छन् ।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख आयोजना निर्देशक मचाकाजी महर्जनले सोमबारबाट मुख्यमन्त्री र प्रदेश प्रमुखहरु सरकारी आवासमा सर्ने बताए ।
अहिले उनीहरुको बासस्थानको व्यवस्थापन संघीय सरकारले गर्दै आएको थियो । भवन बनाएर मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएकाले अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए ।
निर्माणको ठेक्का ०७६ असोज २७ मा भएको थियो । यसको ठेक्का केसी–समानान्तर जेभीले ७२ करोड ४७ लाखमा लिएको हो । आवाससँगै सुरक्षा भवन, इन्टेरियरलगायत सबैको काम सकिएर आवास हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।
भैँसेपाटीमा २७ रोपनी १२ आना क्षेत्रमा निर्माण गरिएका ७ वटा भवनमा १४ वटा ब्लक छन् । जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी तयार गरिएको मन्त्री गुरूङले जानकारी दिइन् । यसअघि प्रदेश प्रमुख र मुख्यमन्त्री काठमाडौं आउँदा केन्द्र सरकारले अपार्टमेन्टमा मासिक झण्डै ९ लाख रुपैयाँ भाडा तिरेर राख्दै आएको थियो ।




















