काठमाडौं । सर्वोच्च अदालतले भदौ ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु गर्ने भएको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलिदेखि सो सिस्टम शुरु गर्न लागेको जानकारी दिएका हुन् ।
आईतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा उनले अदालतभित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे ।
प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गरेको बताए ।
उनले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए । सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए ।




















