काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिको नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार शाहले मनोनयन दर्ता गराएका छन् ।
यस्तै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति, सन्तोष चालिसे अर्थ समिति र आरजु राणाले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशीले मनोनयन दर्ता गराएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका छन् । माओवादीले आफ्नो मागमा परेको समितिको नेतृत्व राप्रपालाई दिएको हो ।
यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खानले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पनि सो समितिको सभापतिका लागि मनोनयन दर्ता गराएका छन् ।
समितिको सभापति चयनका लागि आज बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी मनोनयन प्रस्ताव दर्ताको समय तोकिएको छ ।
आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य तालिका रहेको छ ।
निर्वाचन भोली दिउँसो ३ सम्बन्धित समितिको सभा कक्षमा हुने बताइएको छ ।




















