बागलुङ । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिराको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिराले घर भत्किँदा मैदानका दुई परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायण प्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र बहादुर केसीले बताए । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उनको भनाइ छ ।
घर भत्किँदा नारायण प्रसाद सापकोटाको १० लाख बराबरको क्षेती भएको छ, भने जमुना आचार्यको ६ लाख बराबरको क्षती भएको छ । नारायण प्रसाद सापकोटाको अन्यत्र घर बनाउने जग्गासमेत नभएकोले थप समस्यामा रहेको वडा अध्यक्ष केसीले बताए । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यलयमा सिफारिस गरिएको वडा अध्यक्ष केसीले बताए ।
विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट १ थान त्रिपाल बाहेक कही कतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्ती माथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय नारायणप्रसाद सापकोटाले बताए ।
बागलुङ नगरपालिका– ४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडक खण्ड अन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उनको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घरहरु पनि जोखिममा पर्न थालेपछि स्थानीयहरु त्रसित बनेको सापकोटाले बताए ।