बागलुङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका-४ कानाबगर स्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ-बुर्तिबाङ-पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ लगायतका स्थानमा छुटेका मालवाहक तथा सवारी साधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका-४ का अध्यक्ष टिकानिधी पौडेलले जानकारी दिए ।
बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनी बताउँछन् । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनको भनाइ छ ।
यसखण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात संचालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उनको भनाइ छ ।