विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले धार्मिक र साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले सद्भाव बिथोल्ने र द्वन्द्व मच्याउने क्रियाकलापमा गठबन्धनका कार्यकर्ता लागिपरेको आरोप लगाए ।
सुनसरीको धरानमा पछिल्लो समय देखिएको धार्मिक द्वन्द्व र साम्प्रदायिक सद्भाव भड्काएर नेपालमा अस्थिरताको परिस्थिति निर्माण गराउने प्रयास सत्ता गठबन्धनबाट भइरहेको उनले आरोप लगाए ।
साथै ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधानिक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए । सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने ? माओवादी पार्टी भनेको संविधान नमानेर र हतियार उठाएर हिँडेको हो । उसले संविधान मानेन भन्नु कुनै अनौठो हैन ।’
उनले कोशी प्रदेशमा अब एमाले नेतृत्वको सरकार बन्ने र त्यसले मजाले सरकार चलाउने पनि बताए ।




















