काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० सम्म हुने भएको छ ।
उक्त महाधिवेशनमा संघको नयाँ कार्यसमितिको चुनावी घोषणा समेत सुरु भइसकेको छ ।
यसैक्रममा गोर्खा जिल्लाको फुजेलमा जन्मिएका र हाल बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी अध्ययनसँगै व्यवसाय गर्दै आएका विनिय अधिकारीले एनआरएनएको आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
अधिकारीले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी’ भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
नेपाली नागरिकता, पैतृक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसला अनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकार, पेन्सनको विषय एनआरएनए मार्फत नेपाल सरकारसँग निरन्तर लगायतका २७ बुँदे मुद्दा उठाउने अधिकारीले प्रतिवद्धता जनाएका छन् ।
हिजोको दिनमा नेपालमा भूकम्प, नाकाबन्दी र कोभिड-१९ का कारण नेपाली जनताले भोग्नु परेको कष्टप्रद क्षणमा हातेमालो गरेको बताए । साथै भोलिका दिनमा आइपर्ने विपद् व्यवस्थापन, आर्थिक सहायता लगायत अनेक मुद्दामा हातेमालो गर्न सदैव तयार रहेकोमा प्रतिवद्धता व्यक्त गरे ।




















