काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले ३ बजे बस्न लागेको हो । सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्न दलहरूबीच सहमति जुटेपछि आजदेखि संसदको अवरोध हट्ने भएको हो।
सिंहदरबारमा बुधबार बिहान बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा आयोग गठन गर्नेबारे सहमति जुटेको हो। बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले शीर्ष नेताहरूबीच आयोग गठन गर्नेबारे सहमति जुटिसकेकाले आजदेखि संसद्को अवरोध हट्ने बताए।
सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले १० साउनयता संसद चल्न दिएको थिएन। साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको ६० किलो सुन बरामद भएको थियो। सुन प्रकरणको हाल सीआईबीले अनुसन्धान गरिरहेको छ।
आजको बैठकमा पूरानै एजेण्डालाई निरन्तरता दिने संघीय संसदको सचिवालयले जनाएको छ। सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेछन्।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पूर्पक्षका लागि थुनामा रहेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको अभियोगमा हाल एमालेबाट निर्वाचित सांसद रायमाझी हाल पूर्पक्षका लागि थुनामा छन्। सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा.सुनिल कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने छन् ।
यसैगरी कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थितसदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची छ ।




















