काठमाडौँ । धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ। प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिएका छन् ।
मृतकको सनाखत हुन बाँकी रहेको र उद्दार कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने उनले बताएका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे त्रिशूली नदीमा खसेको हो।
धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो ।
बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । दुर्घटनाका मृतक र घाइतेको सबै विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । बस नदीमा डुबेले कतिपयलाई बाढीले बगाएको पनि हुनसक्ने र कतिपय आफै निस्किएको पनि हुन सक्ने प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।



















