काठमाडौँ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजेतिर नदीमा खसेको हो ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा ६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट अर्का डीएसपीको कमान्डमा ८ जना गोताखोरसहित २६ जना सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।
नदी खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन् । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।



















