काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज बिहान ८ बजे बस्दैछ । हिजोबाट सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा आज नेताहरुले आआफ्नो धारणा राख्दैछन् ।
हिजोको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका छन् ।
पार्टी मातहतका कमिटी तथा जन वर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताएका छन् ।



















