काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरू पार्टी नेतृत्वप्रति चरम असन्तुष्ट रहेको पाइएको छ ।
पार्टीको विशेष आन्तरिक अभियानमा खटिएका नेताहरूले कार्यकर्ताहरू पार्टीको अधिवेशन र निर्वाचनका असन्तुष्टिको भारी बोकेर जनतामा जाने प्रवृति बढेको निष्कर्ष निकालेका हुन् ।
‘निर्वाचनमा कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा कहिले आफ्नै अर्न्तकलह, कहिले सांगठानिक अव्यवस्था त कहिलेकाहीँ नेतृत्वको बेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेताहरूको बुझाइ रह्यो,’ प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्ता गठबन्धन गरी निर्वाचनमा भाग लिँदा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पुरानो र ठूलो लोकतान्त्रिक पार्टीले धेरै स्थानमा आफूले छोडेर अरु दललाई समर्थन गर्नुपर्दा अस्वभाविक ढंगले पार्टीका नेतृत्व तहकै साथीमा पनि व्यापक असन्तुष्टि बढेको हो।’
शीर्ष नेताहरूले भने गठबन्धन गरेकै कारण कांग्रेस पार्टी सबै निर्वाचनमा पहिलो स्थान आएको सन्देशसमेत दिनुपरेको विश्वकर्माले बताए ।
कांग्रेस संघीय सरकारसहित अधिकांश प्रदेश सरकारको नेतृत्व गरे पनि असन्तुष्टि कायमै रहेको अभियानको निष्कर्ष छ ।




















