काठमाडौं । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ ।
मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार (हिजो) बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, काँग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।
सोही जिम्मेवारी अनुसार आफूहरुले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए ।
उनका अनुसार आज दुई बजे प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय दलहरुको बैठकमा मस्यौदा पेश गरिनेछ ।
प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आएको थियो ।
हिजो सोमवार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरुले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए । अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुंगो लगाएपछि संसद बैठक सुचारु हुने नेताहरुले बताएका छन् ।




















