काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा जारी सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु सहभागी भएनन् ।
समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा एमाले किन नगएको भन्ने जिज्ञासामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले नगएको बताएका छन् । ‘संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै पहल गरिराख्नु भएको छ । फेरि त्यही विषयमा राष्ट्रपतिले किन सक्रियता देखाउनुपर्यो ? भनेर हामी गएनौं,’ गिरीले भनेका छन् ।
सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयास र समसामयिक राजनीतिबारे जानकारी लिने–दिने काम हुने बताएका छन् ।



















