काठमाडौं । लगातार अवरुद्ध संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरूका शीर्ष नेता सम्मिलित बैठक विना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको हो ।
बैठकमा सहभागी रास्वपा का सभापति रवि लामिछानेका अनुसार आजको बैठक कुनै निष्कर्ष ननिकालेको भए पनि भोलिको बैठकपछि सदन खुल्ने बताए ।
सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको बताउँदै उनले भने, ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ । ’
उनले सुन प्रकरणबारे अहिले नै उच्चस्तरीय समिति बनाउँदा भइरहेका अनुसन्धान प्रभावित हुन सक्ने देखिएकोले १५ दिन सिआइबीलाई नै दिने कुरा भएको बताए । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानका लागि १५ दिन समय माग गरेको उनको भनाइ थियो।
विमानस्थलबाहिर बरामद भएको ६० किलो बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी थिए ।




















