काठमाडौं । प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्षनेताहरूसँग छलफल जारी राखेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक जारी छ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री दाहालले संसदको गतिरोध हटाउनेबारे छलफल गर्न दलका शीर्ष नेताहरूलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टीका शीर्ष नेताहरूलगायत पार्टीका प्रमुख सचेतकहरू सहभागी छन्।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद पटकपटक अवरोध गर्दै आएको छ ।
एमालेले साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको हो।
लामो समयदेखि संसद अवरुद्ध भएपछि प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर गतिरोध अन्त्यका लागि पहल गरिदिन अनुरोध गरेका थिए।
त्यसपछि राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर जनताका विषयमा गम्भीर हुन र सत्तपक्ष र प्रतिपक्ष मिलेर जान आग्रह गरेका थिए। सभामुख घिमिरेले समेत प्रधानमन्त्री दाहालसहित प्रमुख तीन दलका शीर्ष नेता, प्रमुख सचेतकसँग एकल र संयुक्तरुपमा विभिन्न चरणमा छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकिरहेको छ। छलफलमा सत्तपक्ष र प्रतिपक्ष आ-आफ्नो अडानबाट पछि हट्न सकेका छैनन्।
लामो समयदेखि संसद अवरुद्ध हुँदा विभिन्न कानुनी र प्रक्रियागत कामहरू रोकिएका छन् ।




















