काठमाडौँ । लामो समयदेखि भइरहेको संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्ने भएका छन् ।
गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो १२ बजेपछि बस्ने छ। आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ।
संसदको गतिरोध अन्त्य गरेर नियमित प्रक्रियामा लैजान प्रधानमन्त्रीले शुक्रबार सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।
साउन ३ गते त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयबाट सिनामंगलमा आइसकेपछि वरामद भएको ६० किलो सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० यता लगातार अवरोधले गरेका कारण संसद् नियमित प्रक्रियामा प्रवेश नै हुन पाएको छैन । तर सरकार र सत्तारुढ दलहरु भने सुन तस्करीको छानविन सीआईवीले नै गर्ने बताउँदै आएका छन् ।



















