काठमाडौँ । संसद्मा जारी अवरोध खुलाउने विषयमा सभामुखले आज सत्ता पक्ष र विपक्षी दलबीच छलफल गराउने भएका छन् ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच छलफल गर्न लागिएको हो ।
सभामुख देवराज घिमिरेले बिहान ११ बजेका लागि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको बताइएको छ ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।
६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गर्दा साउन १० गतेदेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।



















