काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको माग र सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक अवरुद्ध हुँदै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएको थियो । यति ठूलो मात्रामा सुन तस्करी सरकारको मिलेमतो विना सम्भव नहुने भन्दै उच्चस्तरीय समिति बनाएर छानविन गर्नुपर्ने माग गर्दै एमालेले भने १० साउनदेखि संसदमा माग गर्दै आएको छ । तर सरकार त्यसका लागि तयार नहुँदा वैठक अवरोध हुँदै आएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पहल गरे पनि सहमति जुटेको छैन । यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आइतबारदेखि संसदको अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो ।
पछिल्लो पटक २९ साउनमा बसेको संसद बैठक एमालेको अवरोधपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो।
एमाले उपाध्यक्षसमेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभए पनि संसदीय अभ्यास भएका मुलुकमा यो प्रचलन रहेको बताएका छन् ।
आजको बैठकका लागि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेसहित विभिन्न ८ वटा सम्भावित कार्यसूची तय भएका छन् ।





















