सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उप–महासचिव तथा बागमति प्रदेश इञ्चार्ज जनार्दन शर्माले जनता रिसाएर माओवादी केन्द्रसँग टाढिएको बुझाइ पार्टीलाई भएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा शनिबार सिन्धुलीमाडीमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
जनताबाट समर्थन जुटाउन ‘माओवादी जनताको साथमा विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निष्र्कष सहित अभियान सञ्चालनको लागि तयारी भइरहेको उनले बताए ।
पार्टीलाई प्रभावकारी नबनाए प्राप्त उपलब्धिहरु खेर जाने, हराउने र देशमा आम नागरिकले संकट भोग्न पर्ने अवस्थालाई मध्यनजनर गर्दै केन्द्रिय समितिको पाँच दिने बैठकले रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनको भनाई थियो ।
सोही अनुसार सात हजार ६४३ वटा वडाहरुमा आगामी १६ गते एकै पटक उक्त अभियानको उद्घाटन गरिने उनले जानकारी दिए ।
अभियान अन्र्तगत जनताको साथमा गएर विभिन्न कार्यक्रम गर्ने, देशमा भएका उपलब्धि, यसका लागि गरिएको योगदान, पहल र कदमीको बारेमा जनतालाई स्मरण गराउने, समाजवादी यात्राको बारेमा जनताले महसुस गर्ने कामको बारेमा बुझाउने र सरकारले गरेका कामहरुलाई जनतामा स्थापित गर्ने लगायतका गतिविधिहरु गरिने उल्लेख गरे ।
नेकपा माओवादी केन्द्र समितिको बैठकले गरेका निर्णयहरुलाई जनता, आमकार्यकर्तासँग पुर्याउनका लागि र पार्टी निर्माणको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि बैठक तथा भेटघाट गर्ने क्रममा सिन्धुली आएका नेता शर्माले सरकारले अहिले अगाडि बढाएका विभिन्न काण्डहरु छानविनको प्रक्रियामा रहेका र बाँकी विभिन्न काण्डहरुका बारेमा अनुसन्धान भइरहेको सुनाए ।
यस्ता काण्डहरुमा माओवादीका नेताहरु पनि मुछिएको भनेर केही नामहरु बाहिरिएको प्रसंगमा पत्रकारहरुले गरेको प्रश्नमा नाम आउँदैमा कसैलाई अपराधी पुष्टि गरिहाल्न नमिल्ने र छानविन हुने उनको जिकिर थियो ।




















