नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा) ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए ।
बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान ८ः३० बजे काठमाडौँबाट भरतपुर विमानस्थल हुँदै दुम्कौलीस्थित शास्वतधाममा आउने धितालले बताए । ‘शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नु हुनेछ’, उनले भने, ‘हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।’
तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आएका हुन् । शास्वतधाम हिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ ।
शास्वतधाम वास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आर्कषक शैलीको हिन्दू मन्दिर हो । यहाँ संस्कृत गुरुकुल समेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदै आएको छ । आगामी सोमबार शास्त्री चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने र भोलिपल्ट काठमाडौँ हुँदै सोही दिन राति दिल्ली जाने कार्यक्रम तय भएको धितालले बताए । (रासस)