काठमाडौं । नेकपा एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । पार्टीको २३औं र २४औं सचिवालय बैठकपछि अपानी-८ सार्वजनिक गर्दै एमालेले भदौ १६ गतेदेखि प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, असोज १० र ११ गते बागमती प्रदेश, असोज १२ र १३ गते कोसी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुनेछ।
प्रदेश अधिवेशनका लागि एमालेले ४० वर्ष मुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि चयनको विधि तय गर्ने भएको छ। ‘एक तिहाई युवा प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने निर्णयलाई सिर्जनात्मक रूपले कार्यान्वयन गर्ने। उदाहरणको लागि ४० वर्ष मुनिका युवाको सहभागिता प्रदेश कमिटीमा न्यूनतम १० प्रतिशत जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्युनतम् २० प्रतिशत र वडा तथा टोलहरूमा कम्तिमा एक तिहाई पुर्याउने,’ निर्णयमा भनिएको छ।
त्यस्तै प्रदेश अधिवेशनको प्रतिनिधि छनोटमा एकरूपता ल्याउन पालिकाहरूलाई प्रतिनिधित्वको आधार मान्न निर्देशनसमेत दिएको छ।
‘सदस्य संख्या न्यून रहेको स्थानमा समावेशीताको प्रतिनिधित्वको आधार जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रलाई बनाउन सकिने। पार्टी प्रवेशबाट आएका कमरेडहरूको हकमा सम्बन्धित प्रदेशको विशेषताअनुरूप प्रतिनिधित्वका लागि विशेष व्यवस्था गर्ने,’ निर्णयमा भनिएको छ ।




















