काठमाडौँ । दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् ।
शुक्रवार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रश्तुत गरेका थिए ।
बंगलादेशबाट एकसाथ यति धेरै पर्यटक नेपाल आएका हुन् । आज र भोलि गरेर बंगलादेशबाट करिव सात सय पर्यटकहरु नेपाल आउने बताइएको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताए । उनले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढीरहेको बताए ।
उनले भने, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिव ७ सय जति पर्यटकहरु आउँदै हुनुहुन्छ । उहाँहरु होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरु बढी रहनुभएको छ ।’
त्यस्तै बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए । उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताए ।
उनले भने, ‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’
पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।