काठमाडौं । साउन १० गतेदेखि भइरहेको सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।
बालुवाटारमा आज विहान भएको छलफलमा सभामुख घिमिरेले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै सदन सहज रुपमा सञ्चालन हुने वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै सभामुख घिमिरेले दलीय सहमतिविना सदन अघि बढ्न नसक्ने बताएका छन् ।
संसदका समितिको नेतृत्व चयन हुन नसकेको, कानून निर्माण रोकिएको गुनासो आएको स्मरण गराउँदै सभामुख घिमिरेले आफूले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको बताएका छन् । उनले
सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने बताउँदै एमाले नेतृत्वसँग गम्भीरताका साथ कुरा गर्ने बताएका छन् ।
ठूलो परिमाणको सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको भन्दै एमालेले उच्चस्तरीय छानबिन समिति गठनका लागि दबाब दिन निरन्तर सदन अवरोध गरिरहेको छ । तर सरकार र सत्ता गठवन्धन दलहरु भने सीआईबीबाटै छानबिन हुनुपर्ने अडानमा छन् । जसले गर्दा संसदका दुवै सदन निरन्तर अवरुद्ध हुँदै आएका छन् ।



















