काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताए ।
उनले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए । उनले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए ।
उनले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको उल्लेख गरे । उनले उद्योग बन्द हुँदा, व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताए । उनले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताए । उनले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताए ।
अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए । उनले आयोग बन्न नदिएर सरकारले सुनतस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताए । उनले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताए । उनले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताए । उनले सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताए ।
अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानीकर्ताको खोजि हुन नसकेको बताए । उनले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताए । उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताए । उनले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाए ।




















