काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको वैठकले सदनको गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको बताइएको छ ।
हङकङबाट तस्करी गरी ल्याइएको सुन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर एमालेले सुनकाण्ड छानबिनका लागि उच्च स्तरीय समिति नै बनाइनुपर्ने माग राखी निरन्तर संसद्मा अवरोध गरिरहेको छ ।
सरकारले भने सीआईबीलाई अनुसन्धान टुंग्याउन दिनुपर्ने र अहिले उच्चस्तरीय समिति आवश्यक नभएको बताइरहेको छ।



















