काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कायम गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा आफू नरहेको बताएका छन् ।
सोमवार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले सुशासन कायम गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहिनता, ठगी र अपराधविरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउने पक्षमा सरकार रहेको बताए । उनले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहिनता, ठगी अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन भन्ने हिसावले काम गरिरहेको बताए ।
उनले मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाँच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको दाबी गरे । उनले पुरानै गतिमा काम गरेर नपुग्ने निस्कर्ष सरकारको रहेको बताए ।




















