काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता कोइरालाले सुन अनुसन्धानको तार्किक निष्कर्शमा पुर्याउन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका हुन् ।
नेपाली कांग्रेसकै समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री दाहाल स्वयं सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनेबारे सकारात्मक छैनन् । नेकपा एमालेले भने लामो समयदेखि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
गत साता गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे संसदमा जवाफ दिएका थिए ।
उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अन्तिम प्रतिवेदन नआउञ्जेल अर्को समिति आवश्यक नरहेको बताएका थिए।
गृहमन्त्रीको जवाफमा चित्त नबुझाएपछि एमालेले संसद अवरोध गर्दै आएको छ । कांग्रेस नेता कोइरालाले एमालेकै लाइनमा सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने धारणा राखेका हुन् । कोइरालाको भनाइले सुन छानबिन प्रकरणमा सत्तारुढ दल नै विभाजित भएको देखिन्छ ।
बैठकमा बोल्दै कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिरहेको बताएका छन् ।
उनले सांसद सुनिल शर्मा पक्राउ गरिएकोमा असन्तुष्टि पोखेका छन्। प्रतिशोधको भावनाले नेताहरूलाई गृहमन्त्रीले पक्राउ गरिरहेको उनको भनाइ छ ।




















