काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डराएको आरोप लगाएका छन् ।
आइतबार सुन तस्करी प्रकरणमा पार्टीको धारणा सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको कुरो उठ्ने वित्तिकै सरकार ढोका बन्द गरेर बसेको आरोप लगाएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुन प्रकरणमा सरकारको संलग्नता छ/छैन यसबारे छानबिन समितिले बताउने जिकिर गरे ।
उनले एकपछि अर्को आउने प्रकरणले देश गम्भीर अवस्थामा पुगेको बताए । उनले पछिल्लो समय भन्सारबाट सुनबाहेक अन्य सामान नभित्रिएको आरोप लगाए।
ओलीले देश सिध्याउने खेल भइरहेकाले देशको पक्षमा हरेक सचेत नेपाली उभिने र बोल्नुपर्ने अवस्था आएको बताए । अध्यक्ष ओलीले अवैध सामान भित्रिनबाट रोक्न अन्य नाकामा पनि कडाइका साथ चेकचाँज हुनुपर्ने बताए ।




















