काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको दाबी गरेका छन् ।
आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा ओलीले अहिलेको संसद एमालेले चलाउन खोजे पनि सरकारले चल्न नदिएको बताएका हुन् ।
ओलीले संसद निदाएर बस्ने थलो नभएको बताए ।
‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो।’ उनले भने, ‘देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो । संसद निदाएर बस्ने थलो होइन।’
ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गरे । उनले सरकार अपराधीलाई जोगाएर स्टण्डबाजीमा उत्रिएको टिप्पणी गरे ।




















