काठमाडौं । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । उक्त सहमतिलाई लिएर सत्तारुढ दल जनता समाजवादी पार्टी त्रसित भएको हो ।
यसै विषयलाई लिएर सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् । उक्त भेटमा यादवले सरकार छाड्ने धम्की समेत दिएको बुझिएको छ ।
मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिमा भएको गौर हत्याकाण्डको छानबिन गरिने भन्ने सवालमा सरकारले जसपालाई फसाउने प्रपञ्च रचेको आरोप लगाएको छ ।
तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका थिए ।
२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) दुबैले आमसभा गर्ने तय गरिएको स्थान रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा झडप हुँदा माओवादीका निशस्त्र २७ जना नेता कार्यकर्ताको वीभत्स हत्या भएको थियो ।
सोही आरोप लागेका यादवको नेतृत्वमा हाल जनता समाजवादी पार्टी जसपा बनेको छ।
स्रोतका अनुसार यादव र देउवाबीच भएको छलफलमा प्रधानमन्त्रीसँग छलफल गर्ने र सरकार छाड्ने जस्ता अप्रिय निर्णय नलिन यादवलाई देउवाले सम्झाएका छन् ।
उक्त छलफलमा यादवले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको बारेमा समेत देउवासँग असन्तुष्टि जनाएका छन् ।
यादवसँगको छलफलपछि आज बिहान सभापति देउवा रक्षामन्त्री एवम् उपसभापति पुर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र कृष्ण सिटौलासहितका नेता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए । उनीहरुबीच संसदको गतिरोध अन्त्य र गौर हत्या काण्डको विषयमा छलफल भएको थियो ।
यो विषयमा जसपाका नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।
एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ ।
बहुचर्चित गौर हत्या प्रकरण ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चोकमा भएको थियो । उक्त हिंसात्मक घटनामा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा कार्यक्रम राखेका थिए । साे समयमा विवाद हुँदा हिंसात्मक घटना घटेकाे थियाे ।
आजभन्दा १७ वर्षअघि भएको गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले रौतहटबाट आन्दोलन उठाएका थिए । उनीहरुले लगातार धर्ना तथा जुलुश कार्यक्रमको आयोजना गरेका थिए ।
पीडितहरुको आन्दोलनप्रति सरकारले चासो राखेर उनीहरुलाई काठमाडौं बोलाएर मंगलबार पाँच बुँदे सहमति गरेको थियो । सो सहमतिमा उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने कुरा उल्लेख छ ।




















