काठमाडौं । संसद्को गतिरोध हटाउन प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच आज पनि छलफल हुँदै छ ।
सोमबार भएको दुई चरणको छलफलमा सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले आज पनि पुनः बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सभामुखसहितको उपस्थितिमा आज बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ ।
सभामुख घिमिरेले दिउँसो ३ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अगाडि नै दलहरूबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबार बसेका २ वटा बैठकबाट सहमति नभएको हो ।




















