काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।
विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको छ । उक्त होटल उनकी श्रीमतीको नाममा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्। हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ । राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।
हालसम्म यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।




















