काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार रहेको बताएका छन् ।
शनिबार दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलमा दक्षिणकाली नगर अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले वीर अस्पतालमा भीभीआईपी र भीआईपीको उपचारका लागि १५ जना चिकित्सकसहितको पूर्वाधार तयार गरिएको बताएका हुन् ।
उनले नेपालमै हुन सक्ने उपचारका लागि विदेश जान चाहे त्यसको सम्पूर्ण खर्च आफैले व्यहोर्नुपर्ने र राज्यले खर्च नव्यहोर्ने स्पष्ट पारे । आफू मन्त्रालयमा आएपछि गरिब तथा विपन्न र बेवारिस नागरिकको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको उनले बताए । मन्त्री बस्नेतले अब कुनै पनि गरिब तथा विपन्न र बेवारिस नागरिकले उपचार गर्न नपाएर ज्यान गुमाउने अवस्था नआउने धारणा राखे ।
त्यस्तै उनले दक्षिणकाली नगर अस्पताललाई आवश्यक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाए ।




















