काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा मालिक जोगाउन खोजेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले सरकारको काम कारवाही ठूला मालिक देखेपछि त्यसलाई छाडेर अर्को फाइल खोल्नेतिर लागेको हो कि भन्ने आशंका भएको बताएका हुन् ।
लामिछानेले सुन प्रकरणमा सरकारले व्यक्ति हेरेर अनुसन्धानलाई अन्त्यसम्म नपुर्याई अर्को फाइल खोल्ने तयारीमा लागेको हुन सक्ने भएकाले रास्वपाले खवरदारी गरिरहेको धारणा राखे ।
लामिछानेले अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलो व्यक्ति हुने आशंका रहेको पनि बताए ।
सभापति लामिछानेले रास्वपालाई बेला बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेको भन्दै जनताले दिएको मतको भारी बाहेक अरु कसैको भारी बोक्नुपर्ने आवश्यकता नरहेको जिकिर गरे।
उनले वर्तमान सरकारले भ्रष्टाचारको फाइल खोल्दै छाड्दै गरेको उल्लेख गरे । लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरी जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा कसैलाई नजोगाउने गरी अनुसन्धान गर्ने दावी गरे ।



















