काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन् ।
शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्नेब बताएका हुन् । उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताए । उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए ।
अहिले पनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गरे । उनले गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शय्या सबै अस्पतालमा लागू भएको बताए । मन्त्री बस्नेतले गरिव, विपन्न, असहाय र बेवारीसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निशुल्क भइसकेको जानकारी दिए । गरिव र विपन्नताका कारण आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताए । उनले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताए ।
यसै वर्ष सघन उपचारको क्षमता बिस्तार गरेर एक सय बेडमा पु-याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट शुरु भएको हो ।




















