काठमाडौँ । सरकारले प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ ।
नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो ।
अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।
ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन ।
काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो। बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन्। स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँमा फोहोर बढ्न पुगेको छ ।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौँको फोहोर विसर्जन हुन सकेको छैन ।




















