काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जनमतले कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारवाही गरिएको जनाएको छ ।
कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोपमा उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारवाही गरेको छ।
मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचन र खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । उनीहरूलाई १ वर्षका लागि निलम्बन गरिएको बताइएको छ ।
कपिलबस्तु पार्टीका बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै भगवान दास यादवलाई पनि १ वर्षका लागि पार्टीले निलम्बन गरेको छ।
भोपेन्द्र यादवले केन्द्रीय निर्देशनको उल्लघंन गरेको र गर्न लगाई गुटबन्दी गरेको भन्दै ३ महिनाका लागि कारवाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।
कारबाहीमा परेका कुशवाहा बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले पार्टीमा भित्र्याएका थिए ।