काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सेनाको संख्या कटौतिको विषयमा आपत्ति जनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेनाको भूमिकामाथि बेमौसमी बहस नगर्न चेतावनी दिएका छन् ।
‘कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गर्न-गराउन एवं मनोबल गिराउने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार गर्दैन । नेपाली सेनाको भूमिकाउपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ।
सेनाको विषयमा निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण जनाएको हो । ‘योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू शृङ्खलाबद्व रूपमा उठ्नु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।
राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान रहेको भन्दै राप्रपाले बहसका निम्ति आफूहरू तयार रहेको बताएको छ । तसर्थ सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गर्न जरुरी छ,’ विज्ञप्तिमा उल्लेख छ ।



















