काठमाडौँ । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डनलगाएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो ।
उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले बिरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण बिरोध गर्नुपरेको बताए । उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए । उनले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिए ।
आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै बिरोध प्रदर्शन गरेका थिए ।




















