काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टीभित्र पनि कुनै छलफल नभएको बताएका छन् ।
लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायित्वको पक्षमा रास्वपा रहेको जिकिर गरेका छन् । उनले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताएका छन् ।
अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ । लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अव सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरेका छन् ।
उनले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दावी गरेको धारणा राखेका छन् ।