काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले अदालतको आदेश,फैसला तथा न्याय सम्पादनको कार्यप्रति आफ्नो पूर्णसम्मान रहेको बताएका छन् । मेयर शाहले राजनीतिक दृष्टिकोणसहित व्यापक अर्थ वा सन्दर्भमा अभिव्यक्त विचारलाई अप्रमाणित रुपमा अदालतको अवहेलनाको विषय बनाइन नहुने उल्लेख गरेका छन् ।
अधिवक्ता वर्षाकुमार झाले दायर गरेको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुखको हैसियतमा अदालतको आदेश, फैसला तथा न्याय सम्पादनको कार्यप्रति मेरो पूर्णसम्मान रहेको जनाएका छन् ।
शाहले गत असार ७ गते उच्च अदालत पाटनबाट भएको हिन्दी फिल्म चल्न दिने सन्दर्भमा भएको आदेश नमान्ने अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिएका थिए । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता झाले दुई साता अघि सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।




















